काठमाडौं- रास्वपा र राप्रपाले नागरिकता विधेयकभन्दा पनि उक्त विधेयक ल्याउँदा अपनाइएको प्रक्रियामा आफ्नो विरोध रहेको स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा ती पार्टीका संसदीय दलका नेताहरुले उक्त स्पष्टीकरण दिएका हुन्।
आफ्नो धारणा राख्ने क्रममा रास्वपा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता पाउने अधिकारलाई कसैले रोक्न नहुने भन्दै पछिल्लो विधेयक प्रमाणीकरण भएको प्रक्रियामा आफूहरुको विरोध रहेको बताए।
लामिछानेले नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको आरोप लगाएका छन्। साथै उनले नागरिकता नहुनुको पीडा आफूलाई थाहा रहेको पनि बताएका छन्।
‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ। जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईंको जति नै सुनिश्चित छ र हुनुपर्छ,’ लामिछानेले भने, ‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं। त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं। गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं।’
यस्तै, राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले पनि आफूहरुको विरोध प्रक्रियामा रहेको बताएका छन्।
‘केही पक्षबाट नागरिक समाजमा हामी नागरिकताको विपक्षमा थियौं भन्ने जस्तो प्रचारहरु भइरहेको छ। हामी प्रक्रियाको विपक्षमा थियौं। विषयमा त संसदमा आएपछि छलफल हुन्छ। त्यसमा हाम्रो धारणाहरु राख्छौं। मुलभूत रुपमा बाबुआमा नेपाली नागरिक छन् भने उनका छोराछोरीले नेपाली नागरिकता पाउनुपर्छ। वंशजका आधारमा नागरिकता पाउनुपर्छ भन्नेमा हाम्रो दुई मत नै छैन,’ सांसद लिङ्देनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।