काठमाडौं- नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। समस्या समाधानका लागि पीडितहरु महिना दिनदेखि राजधानीमा भौंतारिरहेको भन्दै सांसद तामाङले पीडितको पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कञ्चनपुर- १ बाट निर्वाचित सांसद तामाङले भने, ‘कुरो उठाएको उठायै छु। सरकारले गर्छु मात्र भन्छ। कञ्चनपुर जिल्लाका आरक्षपीडितहरुको वर्षौंदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन। नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौंमा हप्तौदेखि पीडितहरु भौंतारिराखेका छन्। सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ?’
तत्कालीन शाही शुक्लाफाँटा बन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित सयौं परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन। सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन्। आरक्षपीडित संघर्ष समिति बनाएर पीडितहरु काठमाडौं आई जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या सुनाए पनि सम्बोधन भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।