काठमाडौं- संसद्मा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल जारी छ। बिहीबारको छलफलमा सहभागी हुन सुरुमै आए उद्योगपति सांसद विनोद चौधरी।
चौधरीले आफ्नो भनाइ राख्ने क्रममा धान रोप्ने बेला सुरु भएपछि सरकार रासायनिक मलको खोजी गर्छ भन्दै ‘जब पर्यो राति तब बुढी ताती’ भन्ने उखानसँग मेल खाने अभिव्यक्ति दिए।
सांसद चौधरीले भने, ‘जब धान रोप्ने बेला सुरु हुन्छ सरकार रासायनिक मलको खोजीमा हतारिन्छ। जब पर्यो राति तब बुढी ताती भन्ने हाम्रो उखान नै छ नि!’
चौधरी आफ्नो भनाइ राखिरहेकै थिए। केही समयपछि पछिल्लो सिटमा रहेका ४-५ जना महिला सांसद उठे। सभामुखले उनीहरुलाई केमा नियमापत्ति हो भनेर सोधे।
सभामुखले समय दिएपछि एमाले सांसद दीपा शर्माले चौधरीको उक्त उखानप्रति आपत्ति जनाइन्। उनले भनिन्, ‘नियमावली को २१ घमा लेखिएको छ- सम्मनित सदनमा कसैलाई अपमान गर्ने कुरा हुँदैन। उखानलाई लिएर महिलामाथि आक्रमण गर्ने गरिन्छ। जब पर्यो राति तब बुढी ताती भन्ने उखान धेरै माननीयको मुखबाट सुन्दै आएका छौं। आज पनि प्रयोग भएको छ। यो रेकर्डबाट काटियोस्।’
उनले सांसदहरुलाइ थप चेतवानी दिँदै भनिन्,‘आजका दिनदेखि कुनै पनि माननीयले विगतमा परम्परागत ढङ्गले बोलिने परम्परा पनि अन्त्य गरियोस्।’
लगत्तै सभामुख देवराज घिमिरेले उक्त उखान रेकर्डबाट हटाउन निर्देशन दिए। साथै साभमुखले उक्त उखान लैङ्गिकमैत्री नरहेकोले हटाउनु परेको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।