काठमाडौं– निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजी र पुन: राजनीतिक दल दर्ता लगायत विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनका अनुसार राजनीतिक दलहरूसँगको बैठकमा ५ विषयमा छलफल हुनेछ। गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने घोषणा भएको थियो। त्यतिबेला आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो।
यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेको थियो। गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए।
यस विषयमा आयोगले पुनः राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो। यस्तै, निर्वाचन कानुनको विधेयक सम्बन्धमा र स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने सम्बन्धमा पनि छलफल गर्न लागेको प्रवक्ता शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।