काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवस दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवर्द्धन गरिनुपर्नेमा सरकार दृढ रहेको बताएका हुन्।
उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार विस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए।
साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मूल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।