काठमाडौं– नेकपा एमालेले ‘सोसल मिडिया’का लागि एकद्वार प्रणाली विकास गर्ने भएको छ। पार्टीले २०७९ फागुन ५ देखि २०८० वैशाख ९ सम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानबाट देखिएको कमजोरीको समीक्षापछि तयार पारेको वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गरेको हो। एकद्वार प्रणालीबारे थप व्याख्या भने गरेको छैन।
एमालेबाट मंगलबार सम्प्रेषित अन्तरपार्टी निर्देशन- ७ मा ‘प्रचारात्मक काम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग’लाई पनि योजनामा राखिएको छ।
‘पहिले ठूला-ठूला सभा र जनपरिचालनबाट पार्टीले आफ्ना कुरा जनतासमक्ष पुर्याउँथ्यो। छरिएका भ्रमहरु चिर्थ्यो। अहिले ‘न्यू मिडिया’को रुपमा डिजिटल मिडिया र सोसल मिडिया प्रभावशाली भएपछि पहिलेको प्रक्रियाले हाम्रो आवश्यकता पूरा गरिरहेको छैन,’ अपानिमा भनिएको छ।
पार्टीप्रति जनताको आकर्षण वृद्धि र नयाँ पुस्ताबीच पार्टीलाई विस्तार गर्न प्रचारात्मक कामलाई सुदृढ गर्नैपर्ने एमालेको निष्कर्ष छ। त्यसका लागि बुँदागत रुपमा कार्यक्रम तय गरिएका छन्।
प्रचार र सूचना प्रवाहको काममा सोसल मिडियाको सदुपयोग गर्ने, सबै प्रकारका सोसल मिडियामा सम्बन्धित तहको पार्टी कमिटी र पार्टी सम्बद्ध जनसंगठनहरुले सञ्जाल निर्माण गर्ने लगायतका कार्यक्रम तय गरिएका छन्।
‘प्रचारको वैकल्पिक योजना तयार पार्ने। प्रत्येक प्रदेशमा एकएक जना केन्द्रीय सदस्यलाई प्रचारको विशेष जिम्मेवारीसहित खटाउने। प्रदेशमा खटेका केन्द्रीय सदस्यले केन्द्रीय विभाग र प्रदेशको प्रचार कार्यमा समन्वय र सहजीकरण गर्ने,’ अपानिमा भनिएको छ।
अर्को प्रसंगमा, पार्टीले पार्टी विधानमा रहेको ७० वर्षको उमेर हदलाई हाललाई निलम्बन गर्ने निर्णय लिएको छ।
यस्तो छ अपानि- ७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।