काठमाडौं– जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा कम बजेट विनियोजन गरेर सरकारले नश्लवादको चिन्तन प्रकट गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्दै अध्यक्ष यादवले उक्त टिप्पणी गरेका हुन्।
मानव विकास सूचकाङ्कमा पछि परेको क्षेत्रलाई कम बजेट विनियोजन गरिएको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘जनसंख्या अधिक रहेको क्षेत्रमा कम बजेट दिनुले कहीँ न कहीँ राजनीतिक रुपमा नश्लवादको चिन्तन स्पष्ट रुपमा देखाएको छ,’ यादवले चेतावनी दिँदै भने,‘यो चिन्तनबाट मुक्त हुनुहोस्।’
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरिएको छ भने सबैभन्दा कम मधेस प्रदेशलाई छुट्याइएको छ। मधेस प्रदेशलाई १३ अर्ब ४५ करोड ३५ लाख विनियोजन गरिएको छ। जसमध्ये पुँजीगततर्फ ३ अर्ब ८९ करोड ९ लाख र चालुतर्फ ९ अर्ब ५६ करोड २६ लाख छुट्टयाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।