काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच सीमासम्बन्धी विवादको चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
भारत भ्रमणबारे राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन्। उनले भने, ‘संयुक्त प्रेस मिटिङमा मैलेभन्दा पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जीले नै सीमासम्बन्धी समस्या हल गरिन्छ भन्नुभएको छ। नेपाल–भारत सम्बन्धलाई २०१४ मा आफू आउँदा जुन स्तरमा थियो। त्योभन्दा अझ माथि लगिन्छ भन्ने कुरा गर्नु भएको छ। उहाँले नेपाल भारतको सम्बन्ध सुपर हिट बनाउने कुरा गर्नुभएको छ।’
प्रचण्डले थप्दै भने, ‘नेपाल भारत सम्बन्धको इतिहासमा भारतको एउटा शक्तिशाली प्रधानमन्त्रीले आफ्नै मुखबाट सीमासम्बन्धी समस्या हल गरिन्छ भन्ने प्रष्ट कमिटमेन्ट आएको र नेपाल भारत सम्बन्धलाई हिमालय जस्तै उचो बनाइन्छ। सुपरहिट बनाउने भनेको पहिलोपटक नै हो।’
उनले लक्ष्मणपुर बाँधसहित डुबान हुने सबै क्षेत्रको बारेमा कुरा भएको जानकारी दिए। उनले कालापानी, लिपुलेक र लिम्पीयाधुराका विषयमा बढी छलफल भएको बताए। सीमा विवादबारे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने आफूले जमिन सट्टापट्टा नगरेको स्पष्ट पारे। उनले भने, ‘मैले कुनै पनि औपचारिक बैठकमा जमिन सट्टापट्टा जस्तो कुरा गरेकै छैन। गरेकै होइन। कालापानी लिपुलेक, लिम्पियाधुरा नेपालको हो। त्यो समस्या वार्ता सम्वादद्वारा छिटोभन्दा छिटो हल गर्नुपर्छ भन्ने कुरा मात्रै भनेको हो।’
प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक आफू भारत जाने दिन नै प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।