काठमाडौं– कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन्। मंगलबार नेपालमा कृषि उपज तथा आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै आर्थिक ऐनमार्फत आलु, प्याज र स्याउ लगायतका वस्तुमा भ्याट लाग्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थाका कारण आयात हुने तरकारी महँगो हुने र त्यसको असर उपभोक्ताको भान्सासम्म पुग्ने उनीहरुको दाबी छ।
अहिले पनि नेपालमा आयात हुने तरकारीजन्य कृषि उपज आलु र प्याजमा ९ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत आयकर लाग्ने संघले जनाएको छ। सरकारले १५ प्रतिशत भ्याट थप गर्दा आयात बिन्दुमै तरकारी र कृषि उपज ३० प्रतिशत महँगो हुने संघको दाबी छ।
सरकारको यस्तो कदमले व्यवसायी हतोत्साही हुने र उपभोक्तालाई पनि महँगीको मार पर्ने भन्दै संघले आलु र प्याजमा मूल्य अभिवृद्धि करको निर्णय फिर्ता लिन अर्थमन्त्रीसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।