सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेस गगरेका थिए। उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो।
छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम सरकारले कुनै अध्ययनबिना नै ल्याएको बताए। उनीहरूले नीति कार्यक्रम सरकारको हो कि कुनै पार्टीको भन्दै प्रश्न गरे।
छलफलमा भाग लिँदै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा मिलेर जानुपर्ने अवस्था रहे पनि सरकार नै त्यो बाटोमा नरहेको जिकिर गरे। सरकारले हुनै नसक्ने क्रियाकलापलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै उनले सरकारले समाएको बाटो गलत रहेको बताए।
सत्ता पक्षकै सदस्य सुरेश अधिकारीले स्थानीय सरकारसँग मिलेर बैंक सञ्चालन गर्ने भनिएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए। उनले संविधानमा लेखिएको कुराभन्दा बाहिर गएर नीति कार्यक्रम ल्याइएको हो कि जस्तो अनुभूति भएको बताए।
अर्का सदस्य वीरबहादुर शाहीले पनि नीति कार्यक्रममा सबै कुरा समेटिएको भए पनि यसको कार्यान्वयन महत्त्वपूर्ण पाटो रहेको बताए। सदस्य हिक्मतबहादुर विष्टले नीति तथा कार्यक्रममा सिञ्जा सभ्यतालाई माथि उठाउने कुरा गरिएकोमा स्वागत गर्दै अझै सिञ्जालाई ‘सिजनल सेन्टर’ बनाउने गरी नीतिमा समेटिनुपर्नेमा जोड दिए।
अर्का प्रदेश सभा सदस्य तुलसा मल्लले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्दै आलोचना गरिन्। सदस्यहरू घनश्याम भण्डारी, पूर्ण खत्री चालिसे, लक्ष्मी सुनार, शोसिला शाही लगायतले छलफलमा भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।