काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बिल्कुल उदासीन रहेको बताएका छन्। बजेट अकर्मण्यता र शिथिलताले ग्रस्त रहेको उनको टिप्पणी छ।
यही जेठ १५ गते प्रस्तुत बजेट वक्तव्यमाथि सुरु भएको सामान्य छलफलका क्रममा प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै ओलीले भने, ‘यसमा बिमार छ। भिजनहीनता छ। यसले परसम्म देख्दैन। चिलको जस्तो आँखा हुनुपर्ने, लाटोकोसेरोको जस्तो आँखा भएको छ। यसले देख्दैन। भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ।’
ओलीले सत्ता पक्षीय सांसदहरुले बोल्ने क्रममा आफूलाई जवाफ दिन सक्ने भए पनि परिणाम र उपलब्धिबाट जवाफ दिन आग्रह गरे।
अहिलेको सरकारको आयस्रोत कसरी बढाउने, त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनाबद्ध ढंगले अगाडि लैजाने जस्ता कुरामा ध्यान नभएको बताए।
‘सरकार अजिंगर जस्तो सुतेको छ। अगाडि केही आयो भने तानेर खाउँला भनेर बसेको छ। भन्सार राखिदिएको छ, त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, आएको बजेट, त्यो भन्सारमा थापेको छ नि, त्यसमा टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।