काठमाडौं– बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिको संग्लनताबारे सदनलाई स्पष्टीकरण दिएका अर्थमन्त्री डा प्रकाशशरण महतलाई एमालेले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई प्रवेश गराइ करका दरहरु हेरफेर गरेको भन्दै मंगलबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलहरुले अर्थमन्त्री महतको जवाफ माग गरेका थिए। सोही विषयका कारण पहिले निर्धारण गरिएको समयभन्दा ३ घण्टा ढिला सुरु भएको बैठकको सुरुमै एमालेसहित विपक्षी दलले अर्थमन्त्रीलाई ‘करका दरमा हेरफेर’बारे प्रश्न सोधेका थिए।
विपक्षी दलहरुले उठाएको प्रश्नका बारे अर्थमन्त्रीले स्पष्टीकरण दिएका थिए। त्यसलगत्तै बजेटमाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्री महतलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिने बताएका हुन्।
‘अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिएर अरु कुरामा पनि हामी सतर्कताका साथ हेरिरहेका छौं। हेर्छौं। यसमा कसैले प्रभाव पारेको छ, छैन? हामी करका दरसँग व्यपारीका अनुहार खोज्छौं,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।