काठमाडौं- नेवार समुदायको सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही र द्रव्य दान दिने प्रचलन छ। यसरी नगर परिक्रमा गर्नाले वर्ष दिनभित्र मृत्यु भएका आफन्त गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्ना दिवंगत आफ्न्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएकोमा यतिले पनि रानीको चित्त नबुझेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने प्रचलन पनि सुरु गरिएको हो। यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाउने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक हुने गरेको छ। गाईजात्राको अवसर पारेर काठमाडौं उपत्यका लगायत दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, खोटाङ, भोजपुर, दाङ लगायत नेवार समुदायको बस्तीमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। यसै अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।

स्थान अनुसार फरकफरक तरिकाले मनाइने गाईजात्रा दाङमा डोकोबाट मानिसको आकृति बनाएर मादल, बाँसुरी र मुजुराको तालमा नाच्ने गरिन्छ। यस वर्ष दाङको घोराहीमा ६ घरबाट गाईजात्रा निकालिएको छ। सबै घरबाट निकालिएको जात्रा घोराहीस्थित भीमसेन मन्दिरमा भेला भएर घोराही बजार क्षेत्रको परिक्रमा गरेको छ।

सबै तस्बिर : रोशनमान श्रेष्ठ/नेपाल लाइभ, दाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।