काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन्। खप्तडमा मंगलबारदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड जान लागेका हुन्।
योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु सिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ।
सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको छ। सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिनेछ।
डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौं प्रजातिका चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।