काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद विकास कोष रोजगारी वा उपलब्धिमुलक कार्यमा खर्च नगरी टुक्रे आयोजनामा वितरण गर्दा विवादित भएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई टुक्रे आयोजना बनाउने र रकम वितरण गर्ने कार्यमा केन्द्रित नहुन समेत आग्रह गरे।
‘सांसद विकास कोषमा ५ करोड आउँछ। त्यो एउटै क्षेत्रमा लगाउने हो भने राम्रै हुन्छ। त्यसले १० हजारलाई रोजगारी दिने काम गर्न सकिन्छ। उद्योग खोल्न लगाउन सकिन्,’ उनले भने, ‘सांसद विकास कोषको नाममा टुक्रा आयोजनामा रकम वितरण गर्दा जनता खुसी हुन्छन् भन्ने गलत सोच हाबी भयो अनि उपलब्धि हासिल भएन।’
उनले सुशासन र पारदर्शितामा प्रष्ट हुन सुझाव दिँदै कतिपय प्रमुख र उपप्रमुखले राम्रो काम पनि गरेको तर त्यसको प्रचार हुन नसकेको बताए। उनले स्थानीय सरकारमा पनि संसद् हुने भन्दै बजेट निर्माणमा ध्यान दिन आग्रह गरे।
कार्यविधि बनाउने तर छलफल नगर्ने अभ्यास धेरै स्थानीय सरकारमा देखिएको भन्दै थापाले त्यसले गलत अभ्यास भइरहेको बताए। ‘संसदको कार्य व्यवस्थामा कसले बोल्ने, कसरी बोल्ने भनेर प्रक्रिया पहिला नै तय हुन्छ। तर हामी संसदमा गएर त्यसैगरी बोल्छौं,’ उनले भने, ‘यो अभ्यास नै हो। स्थानीय सरकार पनि यस्तै भएको भन्दै उनले कानुन बनाएर गर्नुपर्नेमा नगरी कार्यविधि बनाएर गर्दा कहीँ न कहीँ अप्ठ्यारोमा पर्नेछ। तपाईंहरु कतै न कतै फस्नुहुनेछ।’
उनले अब स्थानीय सरकारले आम्दानी बढाउनेतिर लाग्नुपर्ने र आफैं रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताए।‘यो वर्ष कति वटा नयाँ उद्यम स्थापना भयो। त्यसले कति रोजगारी दियो त्यसको जानकारी जनतालाई दिनुपर्छ,’ थापाले भने, ‘तर यसो नगरी विद्यालयको जस्ता फेर्ने अनि रोडमा पैसा मात्र छुट्याएर हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।