काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा भने- ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए।…’
लगत्तै माओवादी केन्द्रका सांसदहरु उठे। सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए। तर त्यतिञ्जेल एमाले, रास्वपा र राप्रपाका सांसदहरु उठिसकेका थिए।
समयम पाएका पाण्डेले खनालको अभिव्यक्तिप्रति नियपपत्ति गरे। उनले संसद्मा मर्यादित संसदीय शब्द प्रयोग गर्नुपर्ने तर्क राखे। ‘भैंसी चढेर आउनुभएको भन्न पाइँदैन। असंसदीय शब्द रेकर्डबाट मेटाइयोस्,’ उनले भने।
त्यतिञ्जेल एमाले, रास्वपा र राप्रपाका सांसदहरु उठेर होहल्ला गर्न थालिसकेका थिए। सभामुखले भने आसन ग्रहण गर्न आग्रह गरे। उनले पालैपालो बोल्न आग्रह गरे।
त्यसपछि एमालेका सांसद सूर्यबहादुर थापालाई समय दिए।
थापाले एक सदस्यले बोलिरहेको समयमा अर्को सदस्यले बाधा पुर्याउन नहुने भन्दै सत्ता पक्षका मान्छेले दादागिरी देखाएको बताए। ‘नियमावलीको पालना गरियोस्। दादागिरी स्वीकार्य हुन्न,’ थापाले भने।
होहल्ला जारी नै थियो। सभामुख भने आसन ग्रहणका लागि आग्रह गरिरहेकै थिए। समय लिएर बोल्न र समय पाउनेले मात्रै बोल्न आग्रह गरिरहेका थिए।
होहल्लाका बीच सभामुखले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए।
त्यसपछि एमाले सांसद रघुजी पन्तले समय पाए। उनले भैंसी चढेको भन्ने शब्द प्रधानमन्त्रीले स्वयम् रोस्ट्रमबाट बोलेको उल्लेख गर्दै अर्को पक्षले बोलेको विषयलाई हटाइएको भन्दै प्रधानमन्त्रीले भनेको शब्द पनि हटाइयोस् भन्ने आग्रह गरे।
त्यसपछि सभामुखले रास्वपा सभापति रवि लामिछानेले पनि उस्तै तर्क गरे। उनले स्वयंले प्रधानमन्त्रीले रोस्ट्रमबाट उभिएर भनेको कुरालाई आफ्ना सांसदले किन भन्न नहुने भन्ने प्रश्न गरे। सत्ता पक्षले पेलेर जान खोजेको भन्दै असन्तुष्टि जनाए।
सभामुखमाले भैंसी चढेर आएको शब्द जसले बोलेको भए पनि रेकर्डबाट हटाउनुपर्यो भनेको भन्दै सभा सञ्चालनका लागि सहयोगको आग्रह गरे। तर फ्लोरमा होहल्ला रोकिएन।
सभामुखले प्रधानमन्त्री भैंसी चढेर आएको कुरा रेकर्डमा रहनु राम्रो नहुने भन्दै रेकर्डबाट हटाउन निर्देशन दिए। प्रधानमन्त्रीले बोलेको कुरा पनि रेकर्डमा आएको भन्दै एक ठाउँमा गाँसेर हेर्न नहुने बताए। त्यसपछि उनले सांसदहरुलाई बस्न र नियमअनुसार धारणा राख्न अनुरोध गरे।
आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्रीले पनि ७ वर्षअघि नै मुर्रा राँगो ल्याउने सहमति भए पनि आफूलाई अहिले भैंसी चढाइएको भन्दै धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।