काठमाडौं– प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेताहरुले नागरिकता विधेयकमा आफूहरुले विषयवस्तुमा नभई प्रक्रियामा प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीले गलत जवाफ दिएको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा संसदमा दिएको जवाफमा प्रतिप्रश्न सोध्न सांसदहरुले गलत उत्तर आएको दाबी गरे।
नागरिकता ऐनको विषयमा प्रधानमन्त्री प्रचण्डले यसअघि पनि यस्ता धेरै कानुन निर्माणको प्रयास भएको र नागरिकता समस्या भोग्दै आएका जनताहरुको समस्या समाधान गर्न ल्याएको दाबी गरे। प्रधानमन्त्रीको उक्त जवाफपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले गलत उत्तर दिएर उम्कन खोजेको दाबी गरे। उनले नागरिकता विधेयक संसदलाई छलेर सरकारले कसरी निर्देशन गरेर प्रमाणीकरण भयो भनी उनले प्रश्न गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुले नागरिकता भित्र के छ भनेर प्रश्न नगरेको र यो संसदमा पेस नभई किन प्रमाणीकरणका लागि मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै प्रश्न गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डले सिधा उत्तर दिनुपर्नेमा अन्तै लगेर जवाफ दिएको दाबी गरे। आफूहरुले नागरिकता विधेयकमा के छ भनेर प्रश्न नगरेको यो किन नयाँ संसद आएपछि जारी भयो भनी प्रश्न सोधेको बताए। उनले नागरिकता दिने कुरामा आफूहरुको असहमति नभएको तर प्रधानमन्त्रीले आफूहरुले नागरिकता दिन नचाहेको रुपमा प्रस्तुत गर्न खोज्दै जवाफ दिएको आरोप लगाए।
त्यस्तै सांसद दमोदर बैरागीले प्रधानमन्त्रीले ढाँटेको आरोप लगाएका छन्। उनले सांसदहरुले यो विधेयकमा छलफल गर्नुपर्नेमा प्रधानमन्त्रीले संसदलाई छलेको आरोप लगाए। सांसदहरुले यो नागरिकता ऐनमा प्रधानमन्त्री दोषी रहेको आरोप लगाए। उनको नेतृत्वमा रहेको सरकारले उनले यसको जिम्मा लिनुपर्ने टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।