फाइल फोटो
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताएका छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरु जाने गन्तव्य स्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताए।
उनले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसहरुको र फर्किएका मानिसको पनि यकिन डाटा राख्न विभागहरुलाई निर्देशन दिए। मन्त्री भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकाहरुलाई मान्यता दिने सरकारको तयारी रहेको बताए।
उनले नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरुलाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महसुस गराउन आवश्यक रहेको बताए। उनले यो विषयमा सरकारल एउटा अभियान सञ्चालन गर्ने बताए।
उनले नेपालीहरु अवैधानिक रुपमा गएका देशमा पनि कानुनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको बताए।उनले वैदेशिक रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानुनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताए।
मन्त्री भण्डारीले सरकारले विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताए। सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नु रहेको उनको भनाइ भयो।
‘सरकारले विभिन्न अवैधानिक तरिकाले जुनसुकै देशमा गएको भए पनि एक पटकको लागि मान्यता दिने र दिलाउने काम गर्ने तयारी गरेका छौँ। नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा विदेश गएर काम गरिरहेको भए पनि मान्यता दिएर नेपाल सरकार भएको महसुस गराउन आवश्यक छ। त्यसको लागि सरकारले अभियान चालउन खोजेको छ', उनले भने।
नेपालीहरु जुन देशमा जे रोजगारीको लागि गए पनि त्यो गन्तव्य र ठाउँलाई सुरक्षित र मर्यादित बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ। 'सरकारसँग पनि वैदेशिक रोजगारमा यति मानिसहरु गए भन्ने मात्रै डाटा आएको छ। यति मानिसहरु विदेशबाट मुलुकमा फकिए भनेर टाटा राख्नुपर्यो। विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्छ। सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच बनाउने र बीचमा कुनै किसिमको अवरोध नहोस् भनेर श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नेछ’, उनले भने।
उनले मन्त्रालय अन्तरगतका विभागहरुले वैदेशिक रोजगारीका विषयमा इमान्दारिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बिना कुनै जानकारी वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले पाउनुपर्ने जानकारी पाउनुपर्ने बताए।
मन्त्री भण्डारीले विभागहरुले वैदेशिक रोजगारी क्षेत्रमा समस्या भए भनेर प्रहरी प्रशासन सहयोगले मात्रै समस्या समाधान नहुने बताए। उनले नीतिगत हिसाबमा इमान्दार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्न आवश्यक रहेको बताए।
उनले भने, 'श्रम मन्त्रालय अन्तर्गतका विभागहरुले पनि इमान्दारीपूर्वक काम गर्नुपर्छ। वैदेशिक रोजगारीमा जानेहरुलाई पूर्वसूचना दिने काम प्रभावकारी बनाउन आवश्यक छ। विभागले प्रहरीहरु राखेर मात्रै समस्याको समाधान हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।