फाइल फोटो
काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन्। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री महतले भारत भ्रमणमा सहमति भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन्।
उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए। उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए। उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने दाबी गरे।
‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो। दीर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो, त्यो समस्यालाई समाधान गर्ने काम अगाडि बढेको छ। हामीले विद्युत उत्पादन गर्न सक्नुपर्यो। अब बजारको समस्या हुन्न भन्ने कुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ’, उनले भने, ‘यद्यपि यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो। अहिले आएर यसले मूर्त रुप लिएको छ।'
उनले विद्युत उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि बढाउँदै लैजानुपर्ने बताए। 'यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरुलाई विद्युतीय माध्यमबाट चलाउने गरियो भने हाम्रो पेट्रोलियम आयात घट्छ। त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो। एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर। यो चाहिँ ठूलो उपलब्धि हुन्छ। त्यस अर्थमा यो भ्रमण उपलब्धिमूलक रह्यो। दुई वटा ठूला महत्त्वपूर्ण आयोजनामा लगानी आउँदैछ। त्यो पनि राम्रो कुरा हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।