काठमाडौं– भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैंसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रालयले प्रष्टीकरण दिएको हो।
आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जाताको मुर्रा प्रजातिको राँगो नश्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको प्रष्ट्याएको हो।
नेपालले यसअघि पटक–पटक औपचारिक र अनौपचारिक तबरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ। नेपालले ५ वर्ष अघिदखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक–अनौपचारिक तवरवाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलव्ध गराउन भनेको मन्त्रालयले प्रष्ट्याएको छ।
तीन वर्षअघि त लिखित रुपमा राँगो माग गरिएको र १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरु उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयको स्पष्टोक्तिमा भनिएको छ। अहिले भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निशुल्क उपलब्ध हुने लागिएको मन्त्रालयले जनाएको छ।
यसरी प्राप्त राँगाहरुलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरु (पोखरा, नेपालगञ्ज र लाहान) मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। यी राँगाहरुबाट ३ वर्षपश्चात वार्षिक कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।