काठमाडौं– राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राखेको कतिपय विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विरोध भएको छ।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले, रास्वपा तथा राप्रपाका सांसदहरु उठेका थिए। सभामुखबाट समय लिएर बोलेका एमालेका प्रमुख सचेत पदम गिरीले नागरिकता विधेयकमा राष्ट्रपतिले कीर्ते गरेको बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमणमा भूमि साटासाट गर्ने कुरा गरेको भन्दै विरोध पनि गरे।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताविहीनलाई नागरिकता दिन होइन, अन्य स्वार्थले ऐन ल्याइएको बताए।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि एमाले र रास्वपाका सांसदहरुले राखेकै तर्कका अतिरिक्त सरकारले हालै दिएको आममाफीका विषयमा पनि कुरा उठाएका थिए।
सभामुख देवराज घिमिरेले उठेका विषयमा प्रधानमन्त्रीले उपयुक्त समयमा जवाफ दिने भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर एमालेका सांसदहरुले नाराबाजी सुरु गरेपछि भने बैठक एक घण्टाका लागि स्थगित गरिदिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।