रास्वपा प्रमुख सचेतक सन्तोष परियार (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिबाट हालै प्रमाणीकरण गरिएको नागरिकता ऐन मधेसका तमाम नागरिकताविहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने ठहर व्यक्त गरेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट घोर विरोध व्यक्त गरे।
‘नागरिकता नेपालको राजनीतिक समस्या हो। यो समस्याले विशेषगरी मधेसका धेरै जनता पीडित भएका छन् भन्ने हाम्रो जानकारीमा छ। रास्वपाले हिजो सरकारमा रहँदाखेर सरकारको साझा न्यूनतम कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा पनि यो विषय राखेका थियौँ। संसद्मा हामीले नागरिकताको विषयमा सधैं कुरा उठाउँदै आएका थियौँ। तर जुन विधि र तरिकाबाट नागरिकता ऐन जारी गराएको छ। यसले मधेसका ती तमाम नागरिकताविहीनलाई नागरिकता दिन होइन। अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने रास्वपाको ठम्याइ छ,’ उनले भने।
उनले नागरिकताविहीनले नागरिकता पाउनुपर्ने बताए। र यो राज्यको दायित्व भएको उनले बताए। ‘राज्य आफ्नो दायित्वबाट विमुख हुने। हिजो लामो समयसम्म राजनीति गरिरहेका पार्टीहरु आफ्नो दायित्वबाट पर जाने र यो संसद्मा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको हामी भारी बोक्ने छैनौँ। हाम्रो यसमा समर्थन छैन,’ उनले भने।
उनले नागरिकता राजनीतिक विषय भएको बताए। ‘नेपालको सुरक्षासँग जोडिएको विषय हो। मानवअधिकारसँग जोडीएको विषय हो। सँगसँगै भूराजनीतिसँग जोडिएको विषय हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।