काठमाडौं- सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा शनिबार पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी थिए।
दुवै पूर्वसभामुखले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिएको सभामुखको सचिवालयले जनाएको छ।
पक्ष/विपक्षमा राजनीतिक दलहरुले नै बहस गर्ने बताउँदै उनीहरुले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
सभामुखले पूर्वसभामुखभन्दा अगाडि पूर्वमहान्यायाधिवक्ताहरुसँग पनि छलफल गरेका थिए। छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्राडा भरतबहादुर कार्की सहभागी थिए।
पूर्वमहान्यायाधिवक्ताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरुपण सर्वोच्च अदालतले गर्ने उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।