काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका। उनले प्रधानमन्त्रीको भ्रमणलाई लिएर धेरै हौसिनु वा नकारात्मक ढङ्गले प्रस्तुत हुनु जरुरी नभएको बताए।
‘हामीले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौँ,’ उपमहासचिव पोखरेलले भने, ‘यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ। म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु।’
माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने पनि बताए। विकास र समाजको लोकतान्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको भन्दै उनले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे।
‘भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ। अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ’, उपमहासचिव पोखरेलले भने, ‘अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ। भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्त रुपमा संघर्ष जरुरी छ।’
दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उनको भनाइ छ । ‘पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी तीन तहको पार्टी स्कुल कार्यक्रम सञ्चालन गरिएको हो‘, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।