काठमाडौं– बुधबार अपरान्ह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उच्च तहको भेटवार्ता गरेका छन्। बिहीबार बिहान हैदरावाद हाउसमा समकक्षी मोदीसँग दुईपक्षीय तथा प्रतिनिधि मण्डलसहित भेटवार्ता तथा छलफल गरेका प्रचण्डले दुई देशबीच केही महत्त्वपूर्ण सम्झौताहरु गरेका छन्।
यी ७ वटा विषयमा सम्झौता
१. नेपाल भारत पारवहन सम्झौता नवीकरण
२. शिलगुढी–झापा र अमेलेगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सम्झौता
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुस्मा स्वराज इन्स्टिच्यूट अफ फरेन अफेयर्स सहकार्य गर्ने समझदारी
४. दोधरा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको समझदारी
५. तल्लो अरुण जलविद्युत् आयोजना निर्माण समझदारी
६. फुकोट–कर्णाली विद्युत् आयोजना विकास तथा निर्माण समझदारी
७. क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी
यीबाहेक प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री मोदिले केही निर्माण भइसकेका योजनाहरु पनि संयुक्तरुपमा उद्घाटन गरे।
प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगर, बुधनगरसम्मको रेलवे सेवा संयुक्त रुपमा उद्घाटन गरेका छन्। त्यस्तै नेपालगञ्जस्थित सुख्खा बन्दरगाहाको पनि उद्घाटन गरेका छन्। भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
यसबाहेक अन्य केही महत्त्वपूर्ण विषयमा समझदारी बनेको प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलनमार्फत् बताएका छन्। नेपाल–भारत–बंगलादेशबीचको त्रीदेशीय विद्युत् व्यापारको बारेमा छिट्टै ठोस निर्णयमा पुग्ने बताएका छन्।
पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेघावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको बताए। त्यसलाई नेपाली पक्षले दीर्घकालीन विद्युत् व्यापार सम्झौता भनेर बताइरहेको छ। तर त्यस्तो कुनै ठोस् सम्झौता भने सार्वजनिक भएको छैन।
महत्त्वको विषय तर भएन सम्झौता
प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणमा महत्त्वका साथ उठाउने भनेको हवाई रुटको अनुमति, पन्चेश्वर परियोजना कार्यान्वयनमा भने कुनै ठोस सम्झौता भएन। नेपालले महेन्द्रनगरबाट र भैरहावा विमानस्थलका लागि हवाई रुट मागेको थियो। तर भारत ठोस सहमति भएन।
प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको बताए। उक्त विषयमा प्रधानमन्त्री मोदीले भने कुनै प्रतिक्रिया दिएका थिएनन्।
‘नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो। एटीआर विमानका लागि द्विपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ,’ प्रचण्डले भने।
यस्तै, भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका सहरमा जाने एटीआर उडानका लागि भारत सरकार सकारात्मक भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। तर सम्झौताको चरण भने बाँकी रहेको छ।
प्रधानमन्त्रीहरुको संयुक्त सम्बोधनपछि विदेश सचिव विनयमोहन क्वात्राले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा उठे पनि विज्ञहरुको आवश्यक परामर्शका आधारमा मात्र थप निष्कर्षमा पुग्न सकिने बताए।
प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि प्रचण्ड मोदीले आयोजना गरेका दिवा भोजमा सरिक भए। लगत्तै उनले नेपाल भारतका संयुक्त व्यापारीहरुको कार्यक्रमलाई सम्बोधन गरेका थिए। त्यसपछि साँझमा भने प्रचण्डले राष्ट्रपति द्रौपति मुर्मू र उपराष्ट्रपति जनदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।