काठमाडौं– सरकारले दाना पदार्थ ऐन, २०३३ को दफा १० अनुसार कुखुराको दानाको गुणस्तर तथा मात्रासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। कुखुराका लागि उत्पादन तथा प्याकेजिङ गरिएका सबै प्रकारका दानाका सम्बन्धमा यो गुणस्तर मापदण्ड लागू हुने छ।
राजपत्रमा प्रकाशित उक्त मापदण्डअनुसार कुखुराको दाना पेलेट्स, क्रम्स वा धूलो जस्ता स्वरूपमा गुणस्तर परिधि तोकिएको छ।
कुखुराको दाना उत्पादन गर्दा मकै, कनिका, ज्वार, गहुँ, जौ, चामल, रागी, सिमल, तरुलको पीठो, वनस्पति तेल, भटमासको पीठो र पिना, बदामको पीठो र पिना, रेपसिडको पिना, सूर्यमुखी र तिलको पिना, माछाको धूलोलगायतका माछाले खान मिल्ने अन्य पदार्थहरू कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख छ।
गुणस्तर मापदण्डमा दानामा हानिकारक तत्त्वको मात्रा तथा नामहरूबारे उल्लेख गरिएको छ। उक्त मापदण्डअनुसार आर्सेनिक बढीमा २ मिलिग्राम प्रतिकेजी हुनुपर्ने उल्लेख छ।
यसैगरी फ्लोरिन ३० मिलिग्राम प्रतिकेजी, सिसा ५ मिलिग्राम प्रतिकेजी, पारो १ मिलिग्राम प्रतिकेजी, सोडियम नाइट्राइट १५ मिलिग्राम प्रतिकेजी मात्र हुनुपर्ने भनिएको छ।
यो गुणस्तर मापदण्ड जारी भएको १ सय ८० दिनपछि लागू हुने राजपत्रमा उल्लेख छ। नयाँ मापदण्ड लागू भएपछि २०६४ पुस १६ गते जारी भएको गुणस्तर मापदण्ड स्वतः खारेज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।