काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन(अनेरास्ववियु)ले सांसद कोष पुन: ब्यूँताइएको भन्दै सभामुख देवराज घिमिरेलाई धानाकर्षणपत्र बुझाएको छ। भ्रष्टाचारको प्रमुख कारकका रुपमा रहेको कोष ब्यूँताइएको र खारेज गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले अर्थमन्त्री डा प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउन खोजेको थियो।
तर अर्थमन्त्री महतले समय नदिएपछि संगठनले सभामुखलाई उक्त पत्र बुझाएको हो। चुनावी खर्च उठाउने, अनेकौं नामले बदनाम एवम् भ्रष्टचारको प्रमुख कारक तत्वको रुपमा प्रमाणित भएकाले बन्द भएको संसद विकास कोषलाई वर्तमान सरकारले ब्यूँताएर बजेट विनियोजन गरेको भन्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले आपत्ति जनाए।
अनेरास्ववियुले संसद विकास कोषका नाममा छुट्टाएको वार्षिक ८ अर्ब २५ करोड रम संविधानले ग्यारेन्टी गरेको तर कार्यान्वयनमा नआएको कक्षा ११ र १२को शिक्षालाई नि:शुल्क गराउने कार्यमा खर्च गराउने व्यवस्था मिलाउन सरकारलाई रुलिङ गर्न सभामुखसँग अनुरोध गरेको छ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाले कक्षा १२ सम्मको शिक्षा निशुल्क भनिए पनि त्यो कार्यान्वयनमा नआएकाले सरकारलाई त्यतातर्फ ध्यानाकर्षण गराउन सभामुखलाई अनुरोध गरे।
सभामुख घिमिरेले सांसद विकास कोषको रकम सदुपयोग नहुनेबारे आफ्नो ध्यानाकर्षण भएको जवाफ दिए। उनले भने, ‘सभामुखको सिमित क्षेत्राधिकार हुन्छ। सांसद विकास कोषको रकम सदुपयोग नभएकोबारे मेरो ध्यानाकर्षण भएको छ। शिक्षालाई विशुद्ध र प्रभावकारी बनाउनेबारे चुनौती रहेको छ। सभामा मैले खेल्ने भूमिका खेल्ने छु।’
सभामुख घिमिरेले संसद्लाई छलेर ल्याएको विधेयकका सन्दर्भमा र आममाफीको छलफलको विषय भएको बताउँदै संविधान संशोधन हुने विश्वाससमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।