काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसद्माथिको नांगो प्रहार भएको बताएका छन्।
उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारमाथि र संसद्माथि नांगो प्रहार भएको बताएका हुन्। उनले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधान, कानुन, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणी गरे।
उनले संसद्लाई छेउ पार्ने काम गरिएको उल्लेख गरे। उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदासमेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै विधेयक उतिबेलै निष्क्रिय भइसकेको बताए। निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ। त्यस्तै नयाँ प्रतिनिधि सभा समेत आइसकेको अवस्थामा संसद्बाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाकोसमेत उल्लंघन भएको उनले बताए।
उनले नागरिकता प्रमाणीकरणको विषयलाई लिएर एमाले जनताको जाने पनि बताए। यो विषय संसद्मा पनि उठाउने उनको भनाइ छ। नेम्वाङले यो विषयले अदालतमा प्रवेश पाउनसक्ने संकेतसमेत गरे।
उपाध्यक्ष नेम्वाङले देशमाथि सबैतिरबाट प्रहारहरु भइराखेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनीतिक दलहरुको बीचमा राष्ट्रिय विषयहरुमा एकताको आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।