काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ।
बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेको हो।
भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध विस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्ने कुरामा छलफल भएको बताए।
भेटमा माओवादीका महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ। साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।