काठमाडौं– नामकरणको विषयमा कोशी प्रदेशमा भइरहेको आन्दोलनको सन्दर्भमा कोशी प्रदेशका कांग्रेस सभापतिहरुले एक विज्ञप्तिद्वारा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनलाई आग्रह गरेका छन्।
सो प्रदेशका १४ जिल्ला सभापतिहरुले बुधबार एक विज्ञप्ति मार्फत आग्रह गरेका हुन्। प्रदेशको नामकरणको विषयमा पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन्। सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै जिल्ला सभापतिहरुले विज्ञप्ति जारी गरेका छन्।
जिल्ला सभापतिहरुले पार्टीका संस्थापक बीपी कोइरालाले ७ दशकअघि नै पाहिचानको पक्षमा उभ्याएकोले उक्त कुरालाई आत्मसाथ गर्दै पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
‘जननायक बीपी कोइरालाले ७ दशकअघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली कांग्रेसलाई दृढतासाथ उभ्याउनुभएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं’, विज्ञप्तिमा भनिएको छ।
यस्तै, सभापतिहरुले आन्दोलनकारीलाई संयम हुन र सरकारले दमन गरेको भन्दै भत्सर्ना गरेका छन्। ‘पहिचान पक्षधर जनताले आफ्नो मागको सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भत्सना गर्दछौं। आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरुलाई विशेष आग्रह गर्दछौं भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
प्रदेश सभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेकोले विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्ने सभापतिहरुको धारणा रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।