काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई तल–माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन्।
आर्थिक पत्रकार समाज नेपालले बुधबार आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कशन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताएका हुन्।
पुँजी बजारमा ठूलो लगानीकर्ताहरुको समूहले बजारलाई तल झारेर तुरुन्तै सेयर किनेर बजारमाथि लैजाने गरेको अर्थमन्त्री महतले दाबी गरेका छन्। उनका अनुसार सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताए।
सरकारले बजेटमार्फत् सेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरुले अर्थमन्त्रीले सेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको महतले जनाएका छन्।
‘जसले धेरै पुँजीबजारमा लगानी गरिरहेको छ। त्यसैले पुँजीबजारलाई माथि लाने र तल लाने काम गर्छ। तल लगेर अनि त्यही बेला किनेर फेरि माथि लगेर तुरुन्तै किन्छ। यसलाई हामी सिस्टममा ल्याउने की नल्याउने? मलाई थाहा छ। भेस्टेट इन्टेटहरु चौतर्फी रुपमा लाग्छन्। खतम गर्यो। अर्थमन्त्रीले समाप्त पार्यो। सबै क्र्यास नै गर्यो। ६० लाख लगानीकर्ता समाप्त हुने भए भनेर हुन्छ। अरु धेरै बाहिरबाट पनि आउँछ,’ मन्त्री महतले भने, ‘अहिले अर्थमन्त्रीको लागि जोखिम पनि त्यहीँ देखिरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।