काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नागरिकतलाई कागजको खोष्टो बनाइएको टिप्पणी गरेका छन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित भएपछि अध्यक्ष थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।
यस्तै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन पारेर विवादित नागरिकता प्रमाणीकरण गर्नु कसलाई खुसी पार्न हो? भन्दै प्रश्न गरेका छन्। राष्ट्रपति पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डमार्फत् ‘गूड न्यूज’ दिएको थापाले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘प्रम प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत् ‘गुड न्युज’ दिनुभयो।’
अध्यक्ष थापाले राष्ट्रहित विपरीत ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान भएको टिप्पणी गरेका छन्।
‘एउटा राष्ट्रपतिले अस्वीकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिनापछि उल्ट्याउनु हास्यास्पद छ। यो राष्ट्रप्रति बेइमानी हो’, नेता थापाले भनेका छन्। तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकतालगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिइन्।
उनले यो विधेयक लागू हुँदा नेपाली नागरिकसँग विवाह गरेकी भारतीय महिलाले विवाहकै दिन नागरिकता पाउने र सांसद हुँदै मन्त्रीसम्म बन्न पाउने बाटो खोलिदिएको नेता थापाले बताएका छन्।
उनले भनेका छन्, ‘भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजाँदा उनले भारतको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ। राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको विधेयक लागू भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन्, सांसद, मन्त्री हुन पाउँछिन्।.
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।