काठमाडौं– ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने,’ भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति हो यो। मंगलबार आफ्नो पार्टीनिकट सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भारत भ्रमणका क्रममा महत्वपूर्ण काम हुने त्यसका अलवा हरु केही नहुने प्रतिबद्धता दोहोर्याएका थिए।
प्रचण्ड ४ दिने भ्रमणका लागि बुधबार दिल्ली उड्दै छन्। गत पुसमा प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। र प्रधानमन्त्रीकालमा भने प्रचण्ड चौथोपटक भारत भ्रमण गर्दैछन्।
यसअघि पहिलोपटक २००८ को सेप्टेम्बरमा, दोस्रो पटक २०१६ को सेप्टेम्बरमा र तेस्रोपटक सन् २०१६ कै अक्टोबरमा प्रचण्ड भारत गएका थिए।
प्रचण्डले यो भ्रमणलाई निकै महत्त्वका साथ लिएका छन्। त्यसका लागि उनले बाआओ फोरममा चीनबाट आएको निमन्त्रणालाई पनि अस्वीकार गरे। भलै उनले चीनियाँ राजदूतको सल्लाहामा आफू नगएको ‘विवादास्पद’ अभिव्यक्ति दिएका थिए।
साथै यो बीचमा दोहामा आयोजित अति कम विकसित मुलुकहरुको शिखर सम्मेलनमा पनि सहभागी जनाएनन्। उनले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम थियो।
उनी आफ्नो पहिलो विदेश भ्रमण जसरी पनि भारतबाट गर्नेमा दृढ थिए। जसको पुष्टि स्वंय उनीनिकट गर्छन्। ‘पहिलो निमन्त्रणा भारतबाटै आएकोले उहाँले भारतकै विदेश भ्रमण गर्ने तयारी गर्नु भएको हुनसक्छ,’ उनीनिकट एक नेता बताउँछन्।
प्रचण्डले भारत भ्रमणलाई किन यति महत्त्व दिएका छन्?
यसअघि बारम्बार भारत भ्रमण हुने भनिए पनि समय तय गर्न भारतले आनाकानी गरेको सर्वविदितै छ। कहिले प्रधानमन्त्री मोदीको विदेश भ्रमणको व्यस्थताले त कहिले विभिन्न प्रदेशको निर्वाचनको कारण समय तय हुन नसकेको बताइयो।
त्यसका बाबजुद पनि प्रचण्ड भारत भ्रमणको समय तय हुनेमा भने आशावादी भइरहे। यसपछि उनी जसरी पनि भारतबाट पहिले विदेश भ्रमण गरेर मोदी र बीजेपीसँग सम्बन्ध थप प्रगाढ बनाउनमा प्रयासरत हुने बताउँछन् कूटनीतिक मामलाका जानकारहरु।
‘प्रचण्ड जसरी पनि भारतीय संस्थापनलाई रिझाउन चाहन्छन्। यसका अतिरिक्त केही महत्त्वपूर्ण व्यापार सम्झौता गरेर आफ्नो कार्यकाललाई थप सम्झनायोग्य बनाउनेमा छन्,’ भारत मामलाका एक जानकारले नेपाल लाइभसँग भने।
प्रचण्ड स्वयम्का लागि सर्वाधिक महत्त्वको भ्रमण
प्रधानमन्त्री प्रचण्ड यो भ्रमणलाई बारम्बार महत्त्वपूर्ण हुने भनिरहेका छन्। यो भ्रमणमा उनले केही दीर्घकालीन महत्त्वको सम्झौता हुने दाबी गरिरहेका छन्।
आफ्नो भारत भ्रमणका विषयमा संसद्लाई जानकारी दिने क्रममा सोमबारको प्रतिनिधि सभामा जलविद्युत्देखि व्यापार पारवहनका विषयमा छलफल हुने बताएका छन्।
मुख्यगरी प्रचण्डको भारत भ्रमण विद्युत् व्यापारमा केन्द्रित हुने सरकारको भनाइ छ। उनको भ्रमणलई लिएर मंगलबार परराष्ट्रमन्त्री एन पी साउदले उक्त कुराको उल्लेख गरे।
‘विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइनलाई विस्तार गरेर विद्युत् व्यापारको वातावरण बनाउने। यो सँगसँगै बांगलादेशसँग पनि विद्युत व्यपार बढाउन वातावरण बनाउने काम हुन्छ,’ परराष्ट्रमन्त्रीले भने।
यो भ्रमणमा प्रचण्डले पञ्चेश्वर परियोजना अघि बढाउनेमा महत्त्वपूर्ण सम्झौता हुने बताइरहेका छन्। यस्तै, दीर्घकालीन विद्युत् व्यपार सम्झौता हुने पनि परराष्ट्रमन्त्री साउदले बताए।
त्यस्तै, भ्रमणका क्रममा नेपाललाई दुईतर्फी हवाई रुट थप, अन्तरदेशीय डिजिटल भुक्तानी, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास, अमलेखगञ्ज लोथर तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता हुने दाबी गरिएको छ।
नेपाल र भारतबीच ‘ट्रान्जिट ट्रिटी’ गर्ने विषयमा पनि यो भ्रमणमा केही महत्त्वपूर्ण कदमहरु चालिने परराष्ट्रमन्त्री साउद बताउँछन्। साथै, नेपालबाट निर्यात हुने वस्तुमा लाग्ने भन्सार शुल्क हटाउनु पर्नेमा नेपालले जोड गर्ने छ। त्यस्तै, नेपाल भारतको व्यापार सन्धिलाई पुनारावलोकन, महाकाली नदीमा बनाउने पुलहरु जसको सम्झौता भइसकेको छ, तिनलाई कार्यन्व्यन हुने तहमा छलफल गर्ने तयारी पनि छ।
यति धेरै विषयहरु कायन्वयन हुने तहमा छलफल र सम्झौता गर्ने भारत जान लागेका प्रचण्डले कति विषयमा सफलता पाउँछन् त्यो भने आगामी दिनले देखाउने नै छ। तर परराष्ट्रमन्त्री साउद यस अघिका भ्रमणमा गरिएका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने अवस्था रहेकोले यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गर्छन्। उनि भन्छन्, ‘कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ हुन्न्।’
यसअघि प्रधानमन्त्री हुँदा कस्तो थियो त प्रचण्डके भारत भ्रमण?
पहिलो कार्यकालः २०६५ साउनमा पहिलोपटक प्रधानमन्त्री भए लगत्तै प्रचण्ड चीन गएका थिए। नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परा रहे पनि उनले भने संयोगवश चीनबाट भ्रमण सुरु गर्नुपरेको थियो। त्यतिबेला कूटनीतिक वृत्तमा अनेक टिकाटिप्पणी भयो।
बेइजिङमा आयोजित ओलम्पिक्सको समापन कार्यक्रममा पुगेका प्रचण्डले स्वदेश फर्किने क्रममा पहिलो राजनीतिक भ्रमण भारतबाटै सुरु गर्ने विवादास्पद अभिव्यक्ति दिए। सोहीअनुसार, अर्को महिनामै भारतको भ्रमण गरे। त्यतिबेला सन् १९५० को सन्धि पुनरावलोकनको विषयले खुबै चर्चा पायो।
उक्त कार्यकालमा प्रचण्डको भारतसँग राम्रो सम्बन्ध बन्न सकेन। प्रचण्ड नेतृत्वको सरकारले पशुपतिको मूल भट्ट भारतीय हुने परम्परा तोडेर नेपाली भट्ट नियुक्त गरेसँगै सम्बन्धमा तिक्तता सुरु भएको थियो।
यस्तै, तत्कालीन प्रधानसेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गरेपछि उनको नेतृत्वको सरकार नै ढल्यो। भारतले राष्ट्रपतिलाई प्रयोग गरेर कटवालको थमौती गरेको भन्दै प्रचण्डले आलोचना गर्ने गरेका थिए। यद्यपि उनैले बर्खास्त गर्नुअघि भारतसँग कुरा गर्न चाहेको थिएँ भन्ने सार्वजनिक अभिव्यक्ति पनि दिए।
सत्ताबाट बाहिरिएपछि माओवादीले राष्ट्रियतालाई केन्द्रमा राखेर आन्दोलन गर्यो। सीमा क्षेत्रमा सभाहरु गर्यो।
प्रचण्डको बहिर्गमनपछि बनेको एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई प्रचण्डले ‘कठपुतली’ को संज्ञा दिए। साथै, ‘सीधै दिल्लीसँग वार्ता गर्ने’ विवादित अभिव्यक्ति दिए। तत्कालीन समयमा प्रचण्ड नेतृत्वको सरकार र सरकारबाट बाहिरिएपछि उनले दिएका अभिव्यक्तिले नेपालको आन्तरिक समस्यालाई दिल्लीसँग जोड्ने प्रयत्न मात्रै गरेन, यहाँको आन्तरिक शक्ति र सरोकारवालादेखि राष्ट्रियतासम्मलाई अवमूल्यन गरिदियो। सबैभन्दा ठूलो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिलाई धेरैले बेइज्जतीपूर्ण ठहर गरे।
दोस्रो कार्यकालः
२०७३ साउनबाट दोस्रोपटक सरकारको नेतृत्व सुरु गरेका प्रचण्डको विदेश सम्बन्धमा भने अघिल्लो पटक जस्तो तिक्तता देखिएन। उनको ४ दिने राजकीय भ्रमणलाई भारतीय पक्षले महत्त्व दिएको थियो। नाकाबन्दीपछि भारतको नेपालमा बिग्रँदो छविका बाबजूद नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई चासोका साथ हेरिएको थियो।
यो कार्यकालमा प्रचण्डले अघिल्लो पटकको जस्तो ‘अपरिपक्व’ कूटनीतिक सम्बन्ध देखाएनन्। भारतको राजकीय भ्रमण गरेको अर्को महिना भारतले नै आयोजना गरेको ब्रिक्स सम्मेलनमा अतिथि बनेर उनी गोवा पुगेका थिए। प्रचण्डलाई प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य राष्ट्रहरुको अध्यक्षको हैसियतमा निम्ता दिएका थिए। प्रधानमन्त्रीका हैसियतमा यो उनको तेस्रो भारत भ्रमण पनि थियो।
प्रचण्डको गोवा भ्रमण उपलब्धिमूलक रहेको थियो। उनले गोवामा एकैसाथ समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरे। उक्त भ्रमणको एक तस्बिरले निकै चर्चा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।