झापा– अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्।
तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन्।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायत उजुरी छन्।
जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट उजुरी बढी परेको न्यौपाने बताउँछन्। मिटरब्याजपीडितले ५ लाखदेखि १ करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए। कार्यालयमै मिटरब्याजपीडित सहायता कक्षमा निवेदन दर्ता गराउने गरिएको छ।
सहायक प्रजिअ न्यौपानेले हालसम्म परेका ५ भन्दा बढी उजुरीउपर छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको बताए। प्रशासनले मिटरब्याजपीडितलाई अन्तिमपटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो। निवेदन दिन म्याद सकिएको २ दिनपछि मंगलबार पनि थप २ जनाको उजुरी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।