काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन्।
एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले भारतसँग सम्बन्ध फराकिलो र समस्या पनि जटिल रहेको भन्दै समस्यामा केन्द्रित भएर छलफल गरेर सम्बन्धलाई जीवन्त बताए। ्
उनले नेपाली जनताले असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै भारतीय पक्षलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन बुझ्न दवाव सिर्जना गर्नुपर्ने भनाइ राखे। इपिजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधारपत्र रहेको भन्दै इपिजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो।
‘इपिजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको जोड हुनुपर्दछ। इपिजी नेपाल हितको सर्वाधिक महत्व विषय हो। त्यसको आधारमा नयाँ सम्बन्ध बनाउने गर्नुपर्दछ’, उनले भने।
जोसँग धेरै सम्बन्ध हुन्छ त्यहीसँग खटपट हुने गरेको उल्लेख गर्दै उनले खटपट धेरै भयो भने सम्बन्धलाई असर पार्ने तहमा पुग्ने हो कि भन्ने चिन्ता रहेको बताए। महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए।
‘गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छु’, उनले भने, ‘कुनै विन्दुबाट नेपालका नदीमा जल यातायात गर्ने सम्भावना रहन्छ। त्यो विषयमा पनि सरकारको ध्यान जान जरुरी रहेको छ।’परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले चीन र भारतको विरुद्धको सैनिक गठबन्धन गर्न नहुने बताए।
उनले १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने भनाइ राखे। नेपाल र भारतका विज्ञ तयार पारेको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्ने बताए।
अर्का परराष्ट्रविद् सूर्यनाथ उपाध्यायले राजनीतिक दलका नेतालाई कडाइका साथ भारतसँग आफ्नो अडान राख्नुपर्ने बताए। उनले जुनसुकै बेला देशका लागि एउटै विचार राख्नुपर्ने बताए। सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत बनाएका बाँधले गर्दा धेरै नेपाली जनता डुबानमा परेको भन्दै सीमामा बनेका बाँध भत्काउनुपर्ने बताए।
उनले नेपाल भारतबीचका धेरै सीमा विवाद रहेकाले प्रधानमन्त्री दाहालले यसपटकको भ्रमणमा सीमा विवाद समस्या समाधान गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीसँग कूटनीतिक कुरा गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।