काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनैतिक, वैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताएका छन्।
मंगलबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ट कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन।’ उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए।
उनले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट पारे। उनले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं।’ प्रधानमन्त्री प्रचण्डले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।