काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको स्थिति २०६४ को जस्तो नभएको बताएका छन्। भ्रष्टाचार तथा हत्याकाण्डहरुको छानबिन गर्ने अभियान सुरु गरेको बताएका उनले फुकेर कदम चाल्नुपर्ने स्थिति रहेको पनि बताए।
‘२०६४ मा हामीलाई अहिलेकै जस्तो अनुभव भइदिएको भए, कसरी कदम चाल्नुपर्ने रहेछ यो सिस्टमभित्र भन्ने अहिले जति अनुभव ‘लिडरसिप’लाई भएको छ। त्यतिबेलै भएको भए हामी कहाँ पुगिसकेका हुन्थ्यौँ। त्यतिबेला रिभुल्युस्नरी रोमान्टिसिज्म त थियो हामीमा। तर यथार्थलाई ठीक ढंगले विश्लेषण गर्ने र सही कार्यनीति निरुपण गर्ने कुरामा हामी कहीँ न कहीँ मनोगत भयौँ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले त्यतिबेला आफूहरुमध्ये कोही दायाँतिरबाट, कोही बायाँतिरबाट, कोही कहाँबाट विचलित हुने प्रक्रियातिर गएको बताए। उनले भने, ‘हामीले त्यत्रो अपार जनसमर्थनलाई बचाएर यो राज्यको सामाजिक रुपान्तरणको निम्ति सदुपयोग गर्न सकेनौँ। हामीले नसकेकै हो। अहिले अलि अनुभव भयो। हामीले आफ्नो उद्देश्यलाई जनता, वर्ष र राष्ट्रको सर्वोत्तम हितका निम्ति यसरी सदुपयोग गर्नुपर्ने रहेछ भन्ने अनुभव भयो।’
उनले अनुभव हुँदासम्म आफूहरुको शक्ति धेरै कमजोर भएको स्वीकार गरे। ‘त्यो बेलाको जस्तो शक्ति छैन। यो विरोधाभाषको बीचमा हामीले नेतृत्व लिएर जनताको मन जित्नेतिर लाग्नु परेको छ। अरुसँग सम्झौता गर्नुपर्ने बाध्यता पनि छँदैछ। हामीले जे चाह्यो, त्यही फटाफट गर्न सक्ने स्थिति त होइन,’ उनले भने।
२०६४ मा तत्कालीन नेकपा माओवादी चुनावमार्फत् सबैभन्दा ठूलो पार्टी भएको थियो। त्यसपछि प्रचण्ड नै प्रधानमन्त्री बनेका थिए। तर, सो सरकार ९ महिनामै ढलेको थियो। सरकारका कतिपय निर्णय विवादित हुँदै गएको थिए। अन्तिममा सरकारले बर्खास्त गरेको भए पनि तत्कालीन प्रधानसेनापतिलाई राष्ट्रपति रामवरण यादवले थमौती गरिदिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।