काठमाडौं- प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरूद्ध उजुरी आह्वान गरिएको छ। संवैधानिक परिषद्ले केही दिनअघि प्रधानन्यायाधीशमा सिफारिस गरेका उनलाई सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
मंगलबार सिंहदरबारमा बसेको बैठकले उनीविरुद्ध समितिमा दर्ता गराउनुका साथै इमेलबाट समेत उजुरी दिन सकिने जनाएको छ। कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरीका लागि १० दिनको समय दिइएको छ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो। कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशको रूपमा कार्यरत छन्।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा सुनुवाइ समितिको बैठक बसेको थियो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपति शमशेर राणाले गरेका हुन्। बैठकले सुनुवाइ समिति कार्यविधि समेत पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।