काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा भारत भ्रमणबारे जानकारी गराएका छन्। आगामी जेठ १७ देखि २० गतेसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मैत्रीपूर्ण भ्रमणमा जाने उनले जानकारी दिएका छन्।
उनले आफूसहित पाँचजना मन्त्री जाने बताए। भारत भ्रमणमा जानेहरुमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजाल रहेका छन्।
यसैगरी मन्त्रालयका सचिवहरु, निजी क्षेत्रका प्रतिनिधि र सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुने उनले बताए। उनले विभिन्न चरणमा तयारी भइरहेको बताउँदै राष्ट्रिय हित र मित्रवत सम्बन्ध केन्द्रमा राखेर संवाद गरिने बताए।
उनले भने, ‘हैदरावाद हाउसमा दुई पक्षीय वार्ता हुनेछ। नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ। विशेषगरी विद्युत्, सिंचाइ, ऊर्जा, कृषि, हवाइ प्रवेश मार्ग आदिका विषयमा छलफल हुनेछ। सुदूरपश्चिमको सीमामा मोटरेबल र झोलुंगे पुल बनाउने विषयमा पनि कुरा हुनेछ। भारतको भूमि हुँदै बंगलादेश बिजुली पठाउने कुराको सुनिश्चितता खोजिनेछ।’
यसैगरी २६ वर्षदेखि अलपत्र पञ्चेश्वरबारे कुरा गर्नुका साथै द्विपक्षीय वार्ताबाट तयार गरिएको नयाँ पारवहन सन्धिलाई टुंग्याउने बताएका छन्।
उनले थपे, ‘इतिहासदेखि नै थाती सीमा समस्या समाधानका लागि ठोस विश्वासको वातावरण बनाउने प्रयास गरिनेछ। नेपाल र भारतका उद्योगी व्यवसायीका संस्थाहरुले आयोजना गर्ने विजनेस समिटलाई सम्बोधन गरिनेछ। अन्तरक्रिया गरिनेछ। मध्यप्रदेशका इन्दोरलगायतमा पनि भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ स्वच्छ भारत परियोजनाको अवलोकन गरिनेछ र आइटी पार्क समेत हेरेर फर्किइनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।