काठमाडौं– सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेट पेश गरेका हुन्। उनले संघीय संसदको संयुक्त सदनमा सरकारको बजेटको उद्देश्य र प्राथमिकता पेश गरे।
सरकारले अर्थतन्त्रलाई गतिशील बनाइ फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सुरक्षा र न्याय प्रत्याभूत प्रदान गर्ने, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको मनोबल उच्च पार्ने उद्देश्य लिएको छ।
त्यस्तै आय तथा रोजगारीको अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलीकरण र सुशासन कायम गर्ने र बजेट प्रणलीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।
त्यस्तै बजेटले केही प्राथमिकता तय गरेको छ। बजेटले कृषि ,ऊर्जा पर्यटन क्षेत्रको विकास, लगानी प्रबर्द्धन र औधोगिक विकास र व्यापार सन्तुलन गर्ने प्राथमिकतामा राखेको छ।
त्यस्तै सामाजिक क्षेत्रको विकास र समाजिक सुरक्षा, गुणस्तरीय पूर्वाधार निर्माण, वित्तीय संघीयताको सुधार र सार्वजनिक वित्त प्रणालीको सुधार गर्ने बजेटको प्राथमिकतामा उल्लेख छ।
त्यस्तै हरित अर्थतन्त्रको विकास्, जलवायु परिर्वतन, रोजगारी सिर्जना र वित्त क्षेत्रको सुधारलाई पनि प्राथमिकतामा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।