काठमाडौं– राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ।
राष्ट्रिय योजना आयोगको सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरेको हो।
आयोगका सदस्य डा रामकुमार फुयाँलले बजेटसँगै संसद्मा टेबुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको बताए।
उनले अन्तर सरकार वित्त व्यवस्थापन २०७४ बमोजिम बजेट नेपाल सरकारले तय गरेको राजश्व र खर्चको आकडा र वार्षिक कार्यक्रमहरु स्वीकृत भएको बताए। सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरुले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्नेगरी सुनिश्चित गरिएको उनको भनाइ छ।
उनले अहिलेको बजेट १६ खर्ब ८८ अर्बको सिलिङको हाराहारीमा रहेको पनि बताए। बजेटमा खर्चमा मितव्ययिता अपनाउने, साधारण खर्च हदसम्म कटौती गर्ने, पुँजीगत खर्चलाई प्रभावकारी रुपमा गर्नसक्ने बनाउने गरी बजेट ल्याउँदा राज्यभित्र भएका संरचनाहरुलाई बलियोसँग चलायमान बनाउने गरी आउने उनले बताए।
बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शंखर बैरागीको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।