काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने बताएका छन्।
१६औं गणतन्त्र दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको दाबी गरेका छन्।
‘विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ।’
गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता षडयन्त्र सफल नहुने दाबी गरेका छन्।
सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
‘हामी संविधानले निर्दिष्ट गरे अनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ। सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन म सबैमा अपील गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।