काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आय तथा व्ययको विवरण (बजेट) ल्याउँदै छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। संघीस संसद्को संयुक्त बैठक आज (आज) सोमबार अपराह्न ४ बजे बस्दैछ।
सरकारले यसअघि आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो।
संविधानमा नै हरेक वर्षको जेठ १५ गते अगाडिसम्म बजेट घोषणा गरिसक्नुपर्ने व्यवस्था छ।
नेपालमा औपचारिक रुपमा २००८ सालदेखि बजेट घोषणा सुरु भएको हो। नेपालको पहिलोपटक २००८ साल माघ २१ गते मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। आगामी आर्थिक वर्षको बजेट पनि चालु आर्थिक वर्षको बजेट बराबर नै हुने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।