काठमाडौं– आसन्न भारत भ्रमणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया गरेका छन्। उक्त छलफलमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्रीलाई भारतसँग यसअघिका प्रधानमन्त्रीहरु जाँदा भएका सम्झौताको कार्यान्वयन स्थित बारे पुनरवलोकन गर्नुपर्ने सुझाव दिइएको छ।
उक्त छलफलम सहभागी राप्रपा नेता तथा पूर्व परराष्ट्रमन्त्री डा प्रकाश चन्द्र लोहनीले यसअघि भारतसँग भएका सम्झौताको कार्यान्वयन स्थितिबारे स्पष्ट हुँदै पूरा नभएकालाई कुरा उठाउन सुझाव दिएको बताएका छन्।
‘भारतमा प्रधानमन्त्रीहरु जाने कुरा हुन्छ र सम्झौताहरु हुने हुन्छ। तर अर्को पटक जाँदा अगाडिको सम्झौता कति कार्यान्वयन भए/भएनन् भन्ने कुरामा छलफल हुँदैन। तर यस पटक जाँदा ती कुराहरु लागू भए/भएनन् भनेर हेर्नुहोस् र किन भएन भन्ने पनि स्पष्ट रुपमा उठाउनुहोस् भनेर सुझाव दिएका छौं,’ नेता लोहनीले भने।
यस्तै, प्रधानमन्त्रीलाई नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई दृष्टिगत गरी भारतसँग आपसी हितका कुरा गरेर विश्वासको वातावरण खडा गर्न पनि भनेको लोहनीले जनाएका छन्।
उक्त छलफलमा नेताहरुले सीमा समस्याका विषयहरुमा, भारत हुँदै बंगलादेशसँग गर्ने विद्युत् व्यापारको विषयको बारेमा सोचपूर्वक छलफल गर्न सुझाव दिएको नेता लोहनीले बताए।
‘सिमामा बाँध बाँधेका कुरा आएको थियो, बंगलादेशसँग विद्युत् व्यापारको बारेमा हुने त्रिपक्षीय सम्झौताहरुमा विचार पुर्याएर राष्ट्रिय हित हुनेगरी अघि बढ्न सुझाव दियौं’ नेता लोहनीले भने।
यस्तै, पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्काले पनि यसअघि भ्रमण हुँदा भएका सम्झौताहरुको प्रगति हेर्न र कार्यान्वयनमा नगएका सम्झौता कार्यान्वयन गराउन जोड गर्नुपर्ने सुझाव दिएको बताएका छन्।
‘यसअघि प्रधानमन्त्री हुँदा भएको भ्रमणमा भएका सम्झौताका कुराहरु थिए। ती कार्यान्वयन भए/नभएको पनि अध्ययन गरेर तीनलाई कार्यान्वयन गराउनुपर्छ,’ खड्काले भने, ‘अन्यथा थप सम्झौताको ताँती लगाउनुभन्दा भएकालाई कार्यान्वयन गराउनुपर्छ भन्नेमा जोड दियौं।’
यस्तै, पूर्व परराष्ट्रमन्त्री रमेश नाथ पाण्डेले भारत भ्रमणमा जाँदा सिमा समस्याको र पानि समस्याको विषयमा गम्भीर हुनुपर्ने सुभाव दिएको बताएका छन्।
‘भारत भ्रमणमा जाँदा २ वटा विषयलाई प्राथमिकता राख्नुपर्छ। पहिलो, सीमानाको समस्या समाधान गर्नुपर्छ। दोस्रो पानीको बारेमा समझदारी बनाउनुपर्छ। पानीमा स्वामित्व हाम्रो हुनुपर्छ। प्रधानमन्त्रीले यसमा जोड दिन सुझाव दिएका छौं,’ पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।