काठमाडौं– चालू आर्थिक वर्षको सुरूवातदेखि नै वस्तु आयात र निर्यात दुवैमा उच्च संकुचन आएको छ।
अर्थमन्त्री डा प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष (२०७९/८०) को फागुन मसान्तासम्म (८ महिना) मा वस्तु आयात र निर्यातमा उच्च संकुचन आएको पाइएको हो।
चालू आर्थिक वर्षको ८ महिनामा कूल वस्तु निर्यातको अंश ९.० प्रतिशत रहेको छ। गत आवको सोही अवधिमा १०.१ प्रतिशत रहेको थियो।
गत आवको वैदेशिक व्यापार २६.१ प्रतिशतले वृद्धि भए पनि चालू आवको ८ महिनामा २०.१ प्रतिशतले घटेको छ। गत आवमा वस्तु निर्यात ४१.७ प्रतिशत र आयात २४.७ प्रतिशतले वृद्धि भएको थियो।
चालू आवको ८ महिनामा कूल वस्तु निर्यातमा २९.१ प्रतिशतले कमी आइ १ खर्ब ४ अर्ब ८० करोड रहेको छ। आयातमा १९.१ प्रतिशतले कमी आइ १० खर्ब ५८ अर्ब ३९ करोड रहेको छ। गत आवको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो भने ३८.६ प्रतिशतले आयात बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।