काठमाडौं– नेपालको अर्थतन्त्रको विस्तार न्यून हुने अनुमान सरकारले गरेको छ। सरकारले आर्थिक सूचकांकहरु सुधार भएको दाबी गरे पनि अर्थतन्त्र भने विस्तार नहुने अनुमान गरेको छ।
सरकारले चालू आर्थिक वर्षको समीक्षासहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थतन्त्र सुधार हुँदै गएको बताएको छ।
‘कोभिड –१९ को प्रभाव कम हुँदै गएसँगै गत आर्थिक वर्षमा आन्तरिक मागमा भएको बढोत्तरीका कारण वस्तु पैठारी उच्च दरले वृद्धि हुन गयो। फलस्वरूप, विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना हुनपुग्यो’, सर्वेक्षणमा भनिएको छ।
नेपाली मुद्राको अमेरिकी डलरसँग भएको उच्च अवमूल्यनलेसमेत वस्तु पैठारी थप महंगो हुन गएको र त्यसबाट सिर्जना भएको बाह्य क्षेत्र असन्तुलनलाई सम्बोधन गर्नका लागि अबलम्बन गरिएको आयात नियमनले वस्तु पैठारीमा कमी आएसँगै आयातमा आधारित राजस्व असुलीमा भने प्रतिकूल प्रभाव गर्न गएको सर्वेक्षणमा भनिएको छ।
‘संघ र प्रदेशको चुनाव तथा बढ्दै गएको अनिवार्य दायित्वबाट चालू खर्चमा भएको वृद्धि र राजस्व असुलीमा आएको कमीको कारण स्रोत व्यवस्थापनमा कठिनाई थपिएकोले आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन सकेन,’ सर्वेक्षणमा उल्लेख छ।
यस्तै रुस–युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपालको समग्र मूल्यस्तर उच्च रहन गएको बताइएको छ।
‘बढ्दो मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्नका लागि अवलम्बन गरिएको कसिलो मौद्रिक नीतिका कारण ब्याजदर बढ्न पुग्यो। निजी क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आउन गयो,’ सर्वेक्षणमा भनिएको छ, ‘तीनै तहका सरकारको पुँजीगत खर्चमा आशातित रूपमा वृद्धि हुन नसक्दा पुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व अभिवृद्धि अपेक्षितस्तरमा हुन सकेन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।