काठमाडौं– नेपाल सरकारको लगानी रहेका ४४ संस्थानमध्ये २५ वटामात्र नाफा रहेको अर्थमन्त्री डा प्रकाश शरण महतले बताएका छन्। घाटामा रहेका संस्थानहरुलाई निजी क्षेत्रबाट सञ्चालन गरिने मन्त्री महतले जानकारी दिएका छन्।
आर्थिक सर्वेक्षण २०७९/०८० र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति सार्वजनिक गर्दै अर्थमन्त्री डा महतले उक्त कुरा बताएका हुन्। मन्त्री महतले सार्वजनिक संस्थानहरुमा चुस्त व्यवस्थापन नभएकाले घाटामा गएको उल्लेख गरेका छन्।
‘सार्वजनिक संस्थानले मुलुकको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा सञ्चालन र व्यवस्थापन देखा परेका कमिकमजोरीको कारण वित्तीय स्थिति त्यति सन्तोषजनक छैन। नेपाल सरकारको लगानीमा रहेका ४४ सार्वजनिक संस्थानहरुमध्ये २५ नाफामा छन्,’ मन्त्री महतले भने, ‘प्रभावकारीरुपमा सञ्चालन हुन नसकेका तथा सार्वजनिक क्षेत्रमा राखिरहन आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी, प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको छ।’
मन्त्री महतका अनुसार सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको र सरकारले उक्त लगानीबाट ६ अर्ब १६ करोड लाभांश अथवा लगानीको १ प्रतिशत लाभांश प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।