काठमाडौं– मन्त्रिपरिषद्को बैठकले टीकापुर हत्याकाण्डको मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद पाएका ‘थारु नेता’ रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
चौधरीको असल चालन–चलन भएको भनेर कारागार व्यवस्थापन विभागबाट पत्र प्राप्त भएको र कैद मिनाहा दिने अभ्यास रहेको भन्दै मन्त्रिपरिषद् बैठकले चौधरीलाई जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा सरकारमा छन्। जेठ १५ गते (सोमबार) गणतन्त्र दिवसको अवसरमा चौधरीलाई जेलमुक्त गर्ने सरकारको योजना छ।
यसअघि राष्ट्रपति पौडेलले कैद माफीका लागि पुगेको पत्रबारे केही प्रश्न गर्दै प्रष्टताका लागि फिर्ता पठाएका थिए। जेठ १२ गते राष्ट्रपति पौडेलले चौधरीको आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी र माफी दिने निर्णयविरुद्ध पीडितको निवेदन समेत परेको कुरा जानकारी गराएका थिए।
उक्त फाइलमा पुन: निर्णय गर्दै मन्त्रिपरिषद्ले माफीका लागि सिफारिस गरेको हो। राष्ट्रपति पौडेलेले माफी दिए चौधरी कैदमुक्त हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।