पहिचान पक्षधरहरुको आन्दोलन निस्तेज पार्न विराटनगरमा तैनाथी प्रहरी। तस्बिर: टंक साम्बाहाम्फे काठमाडौं– कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। दोस्रो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
कोशी प्रदेश सभाको बैठक फागुन १७ गतेपछि पहिलोपटक बस्न लागेको हो। फागुन १७ मा बसेको प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतबाट पारित गरेको थियो।
त्यसपछि प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो।
प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउने तथा केही ऐनहरु संशोधन गर्ने विधेय पेस गर्ने कार्यसूची छ। यस्तै, सरकारले २ वटा अध्यादेश पनि प्रदेश सभामा पेस गर्ने तयारी छ।
प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ।
पहिचान पक्षधरहरुले भने प्रदेश सभा केन्द्रित आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। प्रदेशको नामाङ्कन गर्ने थलो प्रदेश सभा नै भएकाले प्रदेश सभा केन्द्रित आन्दोलन गरिने पहिचानवादी नेताहरुको भनाइ छ।
पहिचान पक्षधरहरुले आफूहरुले प्रदेश सभा भवन घेराउ गर्ने र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने जनाएका छन्।
पहिचान पक्षधरले प्रदेश सभा केन्द्रित आन्दोलन गर्ने भनेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। पहिचान पक्षधरहरु बिहानदेखि नै प्रदेश सभा परिसर वरपर जम्मा हुन थालेपछि प्रहरीले निगरानी बढाउन थालेको हो।
प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरु आन्दोलिन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।