काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण हिँड्दै जाँदा देखापरेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा शनिबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले प्रकरण सरकारले आविष्कार नगरेको बताए।
‘यो पहिलादेखि चल्दै आएको विषय रहेछ। यो सरकारको अनुसन्धान पनि होइन। यो सरकारकै पालामा सुरु भएको कुरा पनि होइन। र यो सरकारले आविष्कार गरेर भ्रष्टाचारविरोधी अभियान सुरु भएको पनि होइन। हिँड्दै जाँदा देखापर्यो। त्यसलाई कसरी हेन्डल गर्ने भन्ने चुनौती सरकारको अगाडि थियो’, उनले भने।
आफूले नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा जो-जो संलग्न छन्, उनीहरु नछुटुन् र निर्दोष कुनै पनि हालतमा पर्न नजाउन् भन्ने मान्यताको आधारमा गृहमन्त्रालय र प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए।
‘अहिले पनि त्यही कायम छ। म त्यहाँबाट दायाँबायाँ भएको देख्नेबित्तिकै मैले आफ्नो ठाउँबाट गर्ने इन्टरभेन गर्ने ठाउँ हुँदासम्म इन्टरभेन गरेको छु’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले अब यो विषय प्रहरीबाट अदालतमा पुगिसकेकाले अदालतबाट जे फैसला हुन्छ, त्यो सबैका निम्ति स्वीकार्य हुने बताए। ‘सिद्धान्ततः हामीले मानेकै कुरा छ। हामीलाई विश्वास छ, अदालतले दूधको दूध, पानीको पानी गर्ने छ। यसबीचमा प्रहरीले अनुसन्धान गर्दा पनि थुप्रै अप्ठ्यारा र जटिलताको बीचमा पनि उनीहरु एउटा निष्कर्षमा पुगेका छन्’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै नभएको बताए। अन्य तमाम बेथितिमा पनि सरकारको ध्यान भएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।